काठमाडौं, असोज १६ । तात्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरे पनि तथ्यले महरा शाहीको डेरामा पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर शाहीको कोठामा पुगेको देखिएको हो ।
प्रहरी स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ६ मिनेट जाँदा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेट बिताएर महरा ८ः२५ मा शाहीको डेराबाट फर्किएका थिए । शाही निवासबाट महरा सभामुख निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ । महरामाथि आरोपलागेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलेबिशेष चासोलिएपछि प्रहरीलेसीसीटीभी फुटेज हेरेको थियो । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएपछि नै महरामाथि नेकपाले कडा एक्शन लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् । प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भएकी हुन । उनले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत मंगलबार अन्तवार्ता दिई महरा आइतवार आफ्नो कोठामा आउँदै नआएको जिकिर गरिन ।
शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुर्व्यवहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नरहेको जनाएकी छन । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार उनले निवेदनमा डिप्रेसनका बेला होसमा नभएर मिडियामा बोलेको जनाएकी छन् । प्रहरीका अनुसार मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म शाही सम्पर्कबाहिर रहेकीथिइन । त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको प्रहरीको बुझाइ छ ।
मंगलबार आफ्नो पूर्वभनाइसँग बाझिने गरी नागरिकखबर डटकमलाई अन्तर्वार्ता दिनुअघि शाही सामाखुसी क्षेत्रमा पुगेको देखिन्छ । त्यहाँबाट सोह्रखुट्टेस्थित एक आफन्तको घरमा बसेर उनले आफ्नो पूर्ववत् भनाइ बदलेर अन्तर्वार्ता दिएकी थिई । सशस्त्र द्वन्द्वकालदेखि नै तत्कालीन माओवादीबाट भूमिगत राजनीति गरेका शाहीका श्रीमान् पछिल्लो समय पनि उच्च तहका नेताहरूसँग सम्पर्कमै थिए । उनी शक्ति बस्नेत गृहमन्त्री भएका बेला सचिवालयमा कार्यरत समेत थिए । शाहीको युटर्नमा उनका श्रीमान् र महराका निकट केही व्यक्तिको भूमिका हुनसक्ने देखिन्छ ।
अपराध पीडित संरक्षण ऐन २०७५ ले पनि पीडितलाई राज्यले नै संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा १० मा पीडितलाई अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकारको व्याख्या गरिएको छ । तर शाहीले राज्यबाट यस्तो सुरक्षाको प्रत्याभूति पाएको देखिँदैन । काठमाडौं बाहिर रहेका उनका श्रीमानले पनि घटनाको सन्दर्भमा साथ दिएको देखिँदैन । बरु उनका श्रीमान् घटना सार्वजनिक भएपछि निरन्तर महरा र उनी निकटका मान्छेसँग सम्पर्कमा रहेको र घटना मिलाउने आश्वासन आरोपित पक्षलाई दिएको देखिन्छ ।
मिडियामा आउनु अघि नै शाहीले महरापुत्र राहुललाई म्यासेज पठाएर बलात्कार गरेको घरभेटीले थाह पाएको बताएकी थिइन । शाहीले राती ११ बजेर ७ मिनेट जाँदा राहुललाई म्यासेज गरेकी थिइन । जस्मा लेखिएको छ, ‘राहुल आज तिम्रो बुवाले मलाई रेप गर्नुभयो, यो कुरा म बसेको घरबेटीले थाह पाई उनले पुलिस बोलाए, उनले चिने अंकल तनहुँ जानुभको छ, अंकललाई पनि थाह भयो, पुलिस आए, मेरो बयान लिए, तिम्रो बुवा भाग्नुभयो, वरपर सबैले देखे, यसको नतिजा के हुन्छ मलाई थाह छैन, मलाइ पिटनसम्म पिटनु भयो ।’
प्रतिक्रिया दिनुहोस्