बनेपा, जेठ २९ । निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्डविपरीत बनाइएका भौतिक संरचना भत्काउन समय थप भएको छ । सो कामका लागि ६ महिना समय थप गरिएको हो ।
उक्त क्षेत्रका ५९ घरटहरा तथा अन्य भौतिक संरचना भत्काउन छ महिना समय थप्ने सहमति गाउँपालिका र स्थानीय व्यवसायीबीच भएको हो । सडक दायाँबायाँ सार्वजनिक स्थलमा बनाइएका संरचना भत्काएर खाली गरिदिन यसअघि गाउँपालिकाले गत चैतमा ३५, १५ र सात दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
स्थानीय व्यवसायीले थप समयसीमाका लागि लिखितरूपमा माग गरेपछिसमय थप्ने सहमति भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारसँगै सुन्दर तेमाल निर्माण गर्न व्यवसायीले देखाउनुभएको चाहनाअनुसार घरधनी आफैँले ६ महिनाको समयसीमा माग गरेपछि दिइएको हो ।
हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको दुई खण्ड १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचना निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा स्थानीयले घर बनाउन थालेको अध्यक्ष तामाङको भनाइ छ ।
नारायणस्थानमा रहेको सार्वजनिक पोखरीमा वरिपरि निर्माण गरिएका पक्की संरचना हटाई पहिलाकै अवस्थामा ल्याउने प्रयास भइरहेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाद्वारा जारी सूचनामा थप गरिएको समयसीमाभित्र आफैँले भत्काउन अटेर गरे पालिकाले भत्काउने उल्लेख गरिएको छ ।
स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि सो क्षेत्रमा पक्की घर निर्माण गर्नुभएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी विसं २०७९ साउन १६ गते निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सवबेस (माटो, बालुवा र गिट्टीको मिश्रण), कालोपत्रलगायत काम गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्