जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार १७:५७

महासचिव पौडेलले गरे सरकारलाई अझै प्रभावकारी ढंगले चलाउन पार्टीले योजना बनाएको खुलासा


रुपन्देही, असोज १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ । ओली नेतृत्वको बर्तमान सरकार असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने निश्कर्ष समेत महासचिव पौडेलले सुनाउनु भयो ।

नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । ‘यो सरकारलाई असफल हुने छुट छैन, यो सरकार पनि असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछ,’ महासचिव पौडेलले भन्नुभयो ।

सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको तथ्य पनि उहाँले राख्नुभयो । स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको खुलासा पनि महासचिव पौडेलले गर्नुभयो । कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको भने कुनै अर्थ नभएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।