जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार ०७:०४

प्रधानमन्त्री २० गते झापा जाने, टिका भने काठमाडौंमैं


काठमाडौं, असोज १८

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अवसरमा गृह जिल्ला झापा जानुहुने भएको छ । उहा पुरै दशैं मनाउन नभई असोज २० गते नवमीका दिन शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सहभागी हुन जानु लाग्नु भएको हो ।

प्रत्येक वर्ष उहाले नवमीका दिन गृहजिल्लामा बडादशैं, तिहार, छठ लगायतका चाडको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आउनु भएको छ । यसपटकको चियापान दमकमा हुने भएको छ । झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

२१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उहाले सर्वसाधारणलाई टीका लगाईदिनु हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दशैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ। कुनै विशेष कार्यक्रम नभएको जनाउँदै दाहाल सचिवालले परिवारसँगै मनाउने योजना रहेको जनाएको छ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दशैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दशैं मनाउने योजना रहेको सचिवालयले जनाएको छ ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दशैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोज) रौतहट जाँदैहुनुहुन्छ । टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने र नेता, कार्यकर्ता, शुभचिन्तकलाई लगाइदिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ ।