काठमाडौं, १३ असार । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो । केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिनुभएको हो । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताउनुभयो । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भन्नुभयो,‘म हार स्वीकार गर्छु ।’
केन्यामा सरकारको नयाँ वित्त विधेयकलाई लिएर विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो तर संसदमा पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो । गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताउनुभएको छ । देशभर विरोध प्रदर्शन भए पनि केन्याको संसदले विवादास्पद वित्त विधेयक पारित गरेको छ ।
विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लियो र आन्दोलनकारी संसदमा प्रवेश गरी आगजनी समेत गरेका थिए । सुरुमा राष्ट्रपति रुटोले पनि यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो । आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गर्नुभयो । सरकारले पेश गरेको विधेयकको उद्देश्य केन्याको वार्षिक करलाई असर गर्ने देशको ८० अर्ब डलरको ऋण घटाउनु थियो ।
रुटोले नयाँ प्रावधान किसान, विद्यार्थी र शिक्षकका लागि फाइदाजनक साबित हुन सक्ने तर जनता आफूसँगै नरहेको स्वीकार गरे । ‘मैले जनताको नेतृत्व गर्छु र उनीहरुले आफ्नो धारणा राखेका छन्,’ उहाँले भन्नुभयो । केन्यामा सामाजिक सञ्जालमा अहिलेको विरोध प्रदर्शन जारी रहने चर्चा छ । यसअघि यी प्रदर्शनको उद्देश्य विवादास्पद आर्थिक विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्न नहुने भए पनि अहिले राजीनामा दिनुपर्ने माग भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्