जनता टाइम्स

२० आश्विन २०७६, सोमबार १५:२७

आचरण र व्यवहारमा तलमाथी परे ठुला साना कसैलाई नछाड्ने प्रधानमन्त्रीको उद्घोष


दमक, असोज २०

प्रधानमन्त्री केपी शर्मा ओलीले आचारणमा तलमाथी परे कसैलाई पनि नछाडिने बताउनु भएको छ । उहाले ठुला साना केही नभनि कारवाही गरिने बताउनु भएको हो ।

नेपाली हरुको महान चाड विजया दशमी, शुभ–दिपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई दमकमा सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो । बलात्कार प्रकरणमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पक्राउ परे लगत्तै उहाको यस्तो भनाई बाहिर आएको हो । यद्यपी उहाले सो प्रसंग भने उल्लेख गर्नुभएन । ‘कसैको केही आचरणमा तलमाथी पर्यो भने छाडिन्न । ठुलो र सानो भन्ने कुरा हुदैन । ठुला सानाको मतलब छैन, आचरण र व्यवहारको मतलब छ’, उहाले अगाडी भन्नुभयो, ‘भ्रष्ट हुन्छ भने जो सुकै पदमा भएपनि भ्रष्टमाथी कारवाही हुन्छ ।’

गृहनगरमा भएको चियापानमा उपस्थित नेता कार्यकर्तालाई उहाले मतदाताको शिर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । प्रधानमन्त्री ओलीले देश र जनताका हितका लागि निष्ठापूर्वक अगाडी बढ्ने बताउनु भयो । ‘तपाईहरुले कहिले पनि छ्या भन्ने अवस्था वा यस्तालाई पनि भोट दिइएछ भन्ने अवस्था वा नाक मै कालो दलो भन्ने अवस्था आउने छैन । तपाईहरुको शिर ठाडो बनाउने छु’, प्रधानमन्त्री ओलीको भनाई छ । उहाले आफुले फाउको जिन्दगी बाँचिरहेकाले आफु नबिग्रिने पनि स्पष्ट पार्नुभयो ।

तपाईहरुले कहिले पनि छ्या भन्ने अवस्था वा यस्तालाई पनि भोट दिइएछ भन्ने अवस्था वा नाक मै कालो दलो भन्ने अवस्था आउने छैन । तपाईहरुको शिर ठाडो बनाउने छु

‘म सानो ठाउमा पहाडको घरमा जन्मिएको । गाइब्राखा चराउदै, भात पकाउदै भाडा माझ्दै खाली खुट्टा स्कुल गएको हु । ५५ वर्ष अगाडी राजनीति थालेको थिए’, उहाले अगाडी भन्नुभयो, ‘म धेरै पटक मरेर बाचेको । यो फाउको मेरो जिन्दगी दुरुपयोग गर्नु छैन । यसलाई सदुपयोग गर्नुछ देश र जनताका लागि ।’

प्रधानमन्त्री ओलीले लामो समय राणा र राजतन्त्रले थिलथिलो पारेको देश सपार्न भने केही समय लाग्ने बताउनु भयो । दशकौंदेखी पछाडी परेको देश अब पछाडी पर्न नसक्ने उहाको भनाई थियो । ‘अढाइ सय वर्ष राजतन्त्रले थिलथिलो पारेको देश । २०४ वर्ष राणा शासनले थिचेको देश । अहिले डेढ वर्षमा सुनको नेपाल बन्ने होइन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बाटा बन्ने हो, पुल बन्ने हो, खानेपानी बन्ने हो, स्कुल, विश्वविद्यालय, स्वास्थ्य केन्द्र बन्ने हो । बन्ने काम शुरु भएका छन् । जसले जे भनोस्, म भ्रष्टचार गर्दिन, गर्न दिन्न ।’

प्रधानमन्त्री ओलीले हुने खानेहरूको भन्दा पनि हुँदा खानेहरुको जीवनमा परिवर्तन देखिएको बताउनु भयो । बास्तविक रुपमा जो सर्वहारा छन्, बिपन्न छन् उनीहरूमा सरकारको अनुभूति पुगेको भन्दै सरकार त्यस्ता नागरिकसम्म पुग्ने क्रममा रहेको पनि बताउनु भयो । कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजे पनि त्यस्ता कुराहरूले समाजमा गलत प्रभाव मात्र पार्ने उहाले बताउनु भयो । भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकता दिएको भन्दै उहाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता रहेको थियो ।