जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ०९:१२

चितवनको सिमताल पहिरोमा परी त्रिसुली नदीमा बेपत्ता बस र यात्रु खोज्न गोताखोरसहित ७० जनाको परिचालन


चितवन, असार २८ । चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्यमा जुटेको छ ।

आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो । काठमाडौँबाट गौरका लागि आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोमा परेर त्रिशूली नदीमा खसेको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । पहिरोमा परी त्रिसुलीमा खसेको दुईवटा बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।