काठमाडौं, साउन ४ । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका तीन जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिनुभएको जानकारी अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली उक्त शव फेला पारेको र एक शव बिहीवार नै नेपाल ल्याइएको छ । भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा सो शव भेटिएको थियो । शवको पहिचान भइसकेको छैन । यद्यपी सो शव सिमलताल पहिरोमा बेपत्ता भएको यात्रु भएको अनुमान गरिएको छ ।
चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये अहिलेसम्म २३ जनाको मात्र शव फेला परेको छ भने ३९ जनाको अवस्था अझै अज्ञात रहेको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन ।
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर) को प्रयोग गरिएको छ ।
किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय भइरहेको बताएको छ ।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस गत असार २८ गते भरतपुर महानगरपालिका २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो । बसमा सवार ६५ मध्ये तीन जना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका छन ।
प्रतिक्रिया दिनुहोस्