जनता टाइम्स

६ श्रावण २०८१, आईतवार १६:१८

प्रधानमन्त्री ओली स्वर्गतिर लागे, सहयात्रीलाई लात्तीले हानेर नर्कतिर धकेलिदिए : माधव नेपाल


काठमाडौं, साउन ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफू स्वर्गतिर लागेर सहकर्मी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लात्तीले हानेर नर्कतिर धकेलिदिएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले रातारात गठबन्धन तोडेर प्रचण्डलाई नर्कतिर धकेलेको आरोप लगाउनु भएको हो । उहाँले ओलीले प्रचण्डमाथि गम्भीर घात गरेको आरोपसमेत लगाउनु भयो।

प्रतिनिधिसभामा आज प्रधानमनत्री ओलीले राख्नुभएको बिश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले भन्नुयो, ‘सँगै स्वर्ग जाने बताउनु भयो तर रातारात अर्काे गठबन्धन बनाएर आफू स्वर्गतिर लाग्नुभयो, अरुलाई लात्तीले हानेर नर्कतिर धकेलिदिनु भयो । ’

नेपालले प्रधानमन्त्री बिश्वासको मत मागेर सदनमा उपस्थित हुनुनभएको र नदेखिएको भन्दै खोजीसमेत गर्नुभएको थियो । नेपालले प्रधानमन्त्री ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको गुनासो पनि गर्नुभयो । प्रधानमन्त्रीले सबैको विचार र धारणा सुन्ने धैर्यता नराखेको उहाँको आरोप थियो ।

‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरुका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । मैलेमात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो,’ नेपालले भन्नुयो ।