जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार २०:११

एनआरएनए विश्व सम्मेलनमा भाग लिन विश्वभरका प्रतिनिधि काठमाडौंमा


काठमाडौं, असोज २२

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ । ५० भन्दा बढी देशका प्रतिनिधिहरु नवौँ विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेका छन् ।

एनआरएनएको सम्मेलन असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने एनआरएनएको अनुमान छ । यसपटक अध्यक्षमा अहिलेसम्म कुमार पन्त र कुल आचार्य भिड्ने पक्का जस्तै भईसकेको छ । यसैगरी अन्य पदका लागि पनि उम्मेद्धारी घोषणा भईरहेका छन् ।

बिहीबारबाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने छ । २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने बताइएको छ । असोज २८ गते मंगलबार राजधानीको होटल हायात रिजेन्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।