जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १७:४१

लाप्राक पुगेपछि निकै भावुक बने एनआरएनएका उपाध्यक्ष कुमार पन्त


काठमाडौं, असोज २३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी सम्मेलनमा अध्यक्षका प्रत्यासी कुमार पन्त गोरखाको लाप्राक पुगेपछि निकै भावुक बन्नुभएको छ । एनआरएनएले ठड्याएको लाप्राक बस्ती अवलोकन गर्न आज पुग्नुभएका पन्तले आफ्नो भावना त्यहाँका स्थानीयबासीसँग पोख्नुभएको हो ।

२०७२ सालको भूकम्पले ध्वस्त बनेको लाप्राकमा एनआरएनएले पुननिर्माणको जिम्मा लिएको थियो । सो बस्ती ठड्याउन निवर्तमान अध्यक्ष शेष घले, बर्तमान अध्यक्ष भवन भट्टसँगै उपाध्यक्ष पन्तले पनि बिशेष भुमिका निर्वाह गर्नुभएको थियो । पन्तले आज लाप्राकका स्थानीयबासीसँग घरबारे जानकारी लिनुका साथै कमी कमजोरी रहेको भए आफूलाई बताउनसमेत आग्रह गर्नुभएको थियो ।

‘लाप्राक : जहाँ हरेक गैरआवासीय नेपालीको भावना र पसिना पोखिएको छ, लाप्राक पुगेपछि एनआरएनएको पसिनाको मिठो फल मिलेको अनुभुति हुन्छ,’ पन्तले जनताटाइम्ससँग भन्नुभयो । आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुन लागेको नवौं बिश्व सम्मेलनका लागि नेपाल आउनु भएका पन्त दसैंको बिदाको अवसरमा लाप्राक बस्ती पुग्नुभएको हो । दसैंको समय भएकोले सवै स्थानीयबासीसँग भेट हुने अपेक्षासहित पन्त सो बस्तीमा पुगेको उहाँका निकट सहयोगीहरुले बताएका छन ।