जनता टाइम्स

१२ श्रावण २०८१, शनिबार १७:०३

बामदेवको उदेक लाग्दो कुरा सुनेपछि


काठमाडौं, साउन १२ । आफ्नो नीजि स्वार्थका लागि पटक पटक पार्टी बिभाजन गर्नुभएका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कम्युनिष्ट पार्टीहरुबीचको एकता हुनैपर्ने अडान राख्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएका गौतमले यस्तो अडान राख्नुभएको हो ।

नेकपा बिभाजन गरी नेकपा एकता अभियानका संयोजक बन्नुभएका गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुट्नुपर्ने भन्दै सवै कम्युनिष्ट पार्टीबीच एकताको वकालत गर्नुभयो । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट पार्टी निर्माणको अभियान घोषणा गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

‘सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बन्नैपर्छ । त्यो पार्टीले देशमा समाजवाद निर्माण गर्छ । भएको पार्टी फुट्दै जाने, अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अनि क्रान्ति हुन्छ । मतभिन्नता छ भने बसेर हल गर्न सकिन्छ,’ गौतमले भन्नुभयो । एकताको वकालत गर्ने गौतम आफैले दुई–दुई पटक पार्टी बिभाजनको नेतृत्व गर्नुभएको छ ।

२०५४ सालमा उपमहासचिव पद गएको रिसमा महाकाली सन्धीलाई बहाना बनाएर नेकपा एमाले बिभाजन गरी माले खोल्नुभएको थियो । २०५६ सालको निर्वाचनमा सानदार शून्य सिट प्राप्त गरेपछि उहाँ एमालेमा बिलय हुनुभएको हो । यस्तै २०७७ सालमा नेकपा बिभाजन गर्न पनि बामदेव नै प्रमुख जिम्मेवार हुनुहुन्छ ।

चुनाव हारेपछि पनि सांसद बन्नै पर्ने र सांसद बनेपछि प्रधानमन्त्री बन्नैपर्ने बामदेवको हठको कारण तात्कालिन नेकपाका दोस्रो बरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष केपी ओलीसँग पराजीत भएपछि कुण्ठा पालेर बस्नुभएका माधव नेपालले पार्टी बिभाजनको निर्णायक कदम चाल्नुभएको थियो । बामदेवले बिभाजनको सुरु गरेको र अन्तिम रुप प्रचण्ड र माधवले दिनुभएको थियो । त्यो अपराधपछि नेपाली राजनीतिमा समाप्तीको बाटोमा रहनुभएका गौतमले फेरि आफू शक्तिशाली बन्न सकिन्छ कि भनेर अरुले बनाइ दिएको पार्टी मिलाएर नेता हुने दाउमा कम्युनिष्ट पार्टीको एकता अभियान भन्दै हिडनुभएको छ ।