जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार १५:१५

विद्यार्थीको दबाब पछि बंगलादेशका दुई डेपुटी गर्भनरले दिए राजिनामा


ढाका, २८ साउन । बंगलादेश बैंकका दुई डेपुटी गभर्नर र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले अन्ततः विद्यार्थी आन्दोलनको सामना गर्दै सरकारलाई राजीनामा पत्र बुझाउनुभएको छ । त्यस्तै, राष्ट्र बैंकका एक सल्लाहकारले गभर्नरसमक्ष राजीनामा बुझाउनुभएको छ । अर्थ मन्त्रालयले दिउँसो १ बजेभित्रै राजीनामा बुझाउनुपर्ने जानकारी दिएको छ । उक्त निर्देशनपछि डेपुटी गभर्नर काजी सैदुर रहमान र मोहम्मद खुर्शिद आलमले बिहान राजीनामा पत्र बुझाउनुभएको हो ।

बिएफआइयुका प्रमुख मसुद विश्वासले पनि सचिवलाई राजीनामा बुझाउनुभएको छ । त्यस्तै, बंगलादेश बैंकका सल्लाहकार अबु फराह मोहम्मद नासेरले गभर्नरलाई राजीनामा बुझाउनुभएको छ । शेख हसिना सरकारको पतनपछि आक्रोशित अधिकारी र कर्मचारीहरूको एक समूहले बुधबार विरोध जुलुसमा केन्द्रीय बैंकका गभर्नर, चार डेपुटी गभर्नर, एक सल्लाहकार र बीएफआईयूका प्रमुखको राजीनामा माग गरेका थिए ।

एक बिन्दुमा तिनीहरू केन्द्रीय बैंकको मुख्य भवनमा गभर्नरको भुइँमा प्रवेश गरे र एकजना डेपुटी गभर्नरलाई खाली कागजमा हस्ताक्षर गर्न बाध्य पारेका हुन् । अरूहरू छोड्न बाध्य भए । त्यसयता उहाँहरु बैंक फर्किनुभएको छैन । सोमबार उहाँहरुले सरकारलाई औपचारिक रुपमा राजीनामा पत्र बुझाउनुभएको हो । बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बंगलादेश बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको बैंकका आन्दोलित अधिकारीहरुले दाबी गर्नुभएको छ । यी पदाधिकारी आफ्नो पदमा रहिरहँदासम्म बैंकिङ क्षेत्रमा सुशासन कायम नहुने उहाँहरुको विश्वास छ ।