जनता टाइम्स

७ भाद्र २०८१, शुक्रबार १४:४८

मर्स्याङ्दी नदीमा खसेको बसको उद्धारमा मेडिकल टिमसहित दुर्घटनास्थल पुग्यो सेनाको हेलिकप्टर


काठमाडौ, भदौ ७ । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताउनु भयो । उहाँका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उहाले बताउनु भयो ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । भदौ ५ मा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उहाँका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय भएका हुन ।