जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १८:०४

एनआरएनए सम्मेलनको तयारी पूरा, काठमाडौं आइपुगे १५ सय प्रतिनिधि


काठमाडौं, असोज २७ । भोलिबाट काठमाडौंमा सुरु हुने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को नवौं विश्व सम्मेलनको तयारी पूरा भएको छ । एनआरएनएका महासचिव बद्री केसीले आज पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिनुभएको हो ।

महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेका छन । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् । एनआरएनएले प्रतिनिधिहरुको नामदर्ता आजै ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गर्ने जनाएको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते तोकिएको छ ।

आगामी नेतृत्वका लागि हालसम्म जर्मनीका कुमार पन्त र बेलायतका कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । यस्तै सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा अध्यक्षका दुवै प्रत्यासी पन्त र आचार्य उपस्थित हुनुहुन्थ्यो भने अध्यक्ष भवन भट्ट पुनर्निर्माण प्राधिकरणको बैठकका कारण समयमा आउन नसक्दा आफ्नै कार्यसमितिका पदाधिकारीसँग नकुरेको भन्दै रिसाउनु भएको थियो ।