जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १८:३५

एनआरएनए निर्वाचन : अध्यक्षका प्रत्यासी कुल आचार्यले छाने आफ्नो प्यानल (सूचीसहित)


काठमाडौं, असोज २७ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को नेतृत्वका लागि उपाध्यक्ष कुल आचार्यले प्यानलसहित उम्मेद्वारी घोषणा गर्नुभएको छ । अर्का उपाध्यक्ष कुमार पन्तसँग प्रतिस्पर्धा गर्न लाग्नुभएका आचार्यले आज पत्रकारसममेलन गरी आफ्नो प्यानल घोषणा गर्नुभएको हो ।

आज दिउँसो आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेद्वारी घोषणा गर्नुभयो । उहाँको प्यानलबाट उपाध्यक्षहरुमा रविना थापा (अमेरिका), केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार) र मन केसी (अष्ट्रेलिया) रहनुभएको छ । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार हुनुहुन्थ्यो । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको पौडेलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो जित्ने आधार भएको बताउनुभयो । अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी पनि आचार्यले गर्नुभयो । सो क्रममा उहाँले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आचार्य जसरी पन्तले भने पत्रकार सम्मेलन गरी उम्मेद्वारको पनल सार्वजनिक गर्नुभएको छैन । पन्त प्यानलमा उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा, र सपिलाराज भण्डारी दावेदार हुनुहुन्छ । यस्तै महासचिवमा डा हेमराज शर्मा, डिबी क्षेत्रीसहित दावेदार हुनुहुन्छ ।

यस्तै सचिवमा सचिवमा आरके शर्मा, गौरी जोशी, शुष्मा राईसहित आधा दर्जन दावेदार हुनुहुन्छ । कोषाध्यक्षमा सुदन थापा, महेश श्रेष्ठ प्रमुख दावेदार हुनुहुन्छ । परामर्शमै रहनुभएका पन्तले अन्तिम समयसम्म आफ्नो टीम छनोट गर्ने उहाँ निकटले जनाएका छन ।पन्त समूहलाई पूर्वअध्यक्षहरुको बलियो समर्थन रहेको बताइन्छ । एनआरएन विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । विश्वभर छरिएर रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले एनआरएन विश्व सम्मेलनलाई महत्वका साथ हेरिएको छ । एनआरएनएले आइसिसि) को नवौं विश्व सम्मेलनको तयारी पूरा भएको जनाएको छ । एनआरएनएका महासचिव बद्री केसीले आज पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिनुभएको हो ।

महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेका छन । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् । एनआरएनएले प्रतिनिधिहरुको नामदर्ता आजै ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गर्ने जनाएको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते तोकिएको छ । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।