जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ०८:३१

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा आजदेखि


काठमाडौं, २८ असोज । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् भने संघको नयाँ नेतृत्व पनि चयन हुनेछ ।

सम्मेलनमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।

एनआरएनएका प्रवक्ता भुषण घिमिरेका अनुसार प्रतिनिधिहरूको नाम दर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिएको छ । एनआरएनको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित हुनेछन् ।

प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १–१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन् ।

प्रत्येक क्षेत्रबाट १–१ जनाका दरले ६–६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने संघले जनाएको छ ।