जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ११:०७

सम्मुनत नेपाल निर्माण गर्ने महाअभियानमा सहभागी हुन एनआरएनएलाई राष्ट्रपतिको आव्हान


काठमाडौं, असोज २८

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मुनत नेपाल निर्माण गर्ने महाअभियानमा सहभागी हुन आव्हान गर्नुभएको छ । गैरआवासीय नेपाली (एनआरएनए)हरुको नवौं विश्व सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाले लगानीका लागि आव्हान गर्नुभएको हो ।

उहाले लगानीलाई सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको जानकारी समेत गराउनु भयो । ‘नेपालमा विकसित हुदै गएको सहज र अनुकुल आन्तरिक र बाह्य वातावरणमा संसारभरी आर्जेको ज्ञान, सिप, अनुभव र उद्यमशिलतालाई व्यक्तिगत र सामुहिक लगानीमार्फत सम्मुनत नेपाल निर्माण गर्ने महाअभियानमा सहभागी हुन आव्हान गर्दछु’, राष्ट्रपतिको भनाई छ ।

उद्‍घाटन सत्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताउनु भयो । उहाले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह समेत गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञावलीले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताउनु भयो ।

विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलन मंगलबारबाट ३० असोजसम्म चल्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ । अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिने भएका छन् । समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन् । संघको नयाँ नेतृत्वका लागि ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वदेशी विदेशी गरी करिब २ हजार ५ सयको सहभागिता रहनेछ ।