काठमाडौं, असोज २८
यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउनु अघि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।
पौने ११ बजे महरालाई नर्भिक अस्पतालबाट सिधा वकिलको कार्यालय बबरमहलमा उपस्थित गराइएको छ । त्यहा उहालाई प्रारम्भिक चरणको सोधपुछ र बयान लिने काम हुने बताइएको छ । त्यसपछि म्याद थपका लागि जिल्ला अदालत लगिने प्रहरी स्रोतले जानकारी दिएको छ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्