जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ११:५९

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु


 ओहायो, असोज २८

अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका दुई नागरिकको मृत्यु भएको छ । गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको र अर्की २२ वर्षीया सृजना विश्वकर्माको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गरेको हो ।

घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो। त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए । कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो । जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ। स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठोक्किएको हो ।

जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार थिए । पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो । त्यहाँका स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमा छोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन ।