जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १२:१५

राजपा सांसद साहबिरुद्ध पक्राउ पूर्जी जारी


जनकपुर, असोज २८

जहाज उडानमा ढिलो भएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ पर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालयलाई पत्र काटेको हो ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गर्न पत्र काठमाडौं पठाइएको जानकारी दिनुभयो । ‘गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ,’ एसपी खनालले भन्नुभयो, ‘उजुरी दर्ता गरेर उनलाई पक्राउ गर्न पत्र काटिएको हो ।’

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । ‘प्रहरीको अनुरोधमा अदालतले उहाँलाई पक्रन पूर्जी जारी गरेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘अदालतबाट पूर्जी जारी भएकाले सांसद साहलाई पक्रन देशभरि पत्राचार गरिने छ।’

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।