जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १७:०९

रोशनी शाहीले बयान फेरेपनि अदालतले दियो महरालाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं, असोज २८ । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जवर्जस्ती करणी गरेको आरोप लगाएपछि सभामुखबाट पदमुक्त हुनुभएा कृष्णबहादुर महरालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज अनुमति दिएको हो ।

यसअघि महरालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप्ने कि नथप्ने भन्ने विषयमा बहस भएको थियो । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको आग्रह गरेको थियो । महराका कानून व्यवसायीहरुले भने महरालाई थुनामुक्त गर्नुपर्ने पक्षमा बहस गरेका थिए । महराले आफ्नो प्रारम्भिक बयानको क्रममा शाहीसँग पारिवारिक सम्बन्ध रहेकोले कोठामा आउजाउ भइरहने तर आफूलाई लगाएको जस्तो जवर्जस्ती करण भने नगरेको बयान दिएका छन ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको भनेको दिन आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो जवरजस्ती करणीको प्रयास नगरेको बताएका हुन । ‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको हो, तर जवर्जस्ती करणीको प्रयाश गरेको होइन,’ बयानमा महराको भनाई थियो । महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन । यद्यपी प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यो घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ । यो प्रक्रिया सकिएपछि महराविरुद्ध जवरजस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ । बिहीबार प्रारम्भिक बयानपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै महरालाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ । आज प्रहरीले अस्पतालबाटै सरकारी वकिलको कार्यालय हुँदै अदालत पेश गरेको हो ।जवरजस्ती करणीको आरोप लागेपछि महराको सभामुख पद गइसकेको छ भने सांसदबाट पनि निलम्बनमा परेको छ ।