जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १५:३२

एनआरएनए निर्वाचन : यस्तो बन्यो अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्यको फाइनल टीम (सूचीसहित)


काठमाडौं, असोज २९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि आज हुन लागेको निर्वाचनमा कुमार पन्त र कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । जर्मन निवासी पन्त र बेलायत निवासी आचार्य दुवैले प्यानल बनाएर उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

प्यानलअनुसार चार उपाध्यक्षमा पन्तसमुहबाट डा. बद्री केसी, (रसिया), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), धर्मराज अधिकारी (अष्ट्रेलिया र सोनाम लामा (अमेरिका पर्नुभएको छ । यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया) पन्त टीममा पर्नुभएको छ । उता आचार्य समुहले उपाध्यक्षमा मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), डा केशव पौडेल (अमेरिका) लाई उठाएको छ भने महिला उपाध्यक्षमा रबिना थापा (अमेरिका) लाई राखेको छ । पन्त समूहले महासचिवमा बेलायत निवासी प्राडा हेमराज शर्मालाई अघि सारेको छ भने आचार्य समुहबाट महासचिवमा जानकी गुरुङ हुनुहुन्छ ।

यस्तै सचिवमा अमेरिका निवासी गौरीराज जोशी, कतारका आरके शर्मा, बेल्जियमका शिवकुमार बरुवालमध्ये दुई जनालाई छान्ने क्रममा रहेको छ । सोही पदमा आचार्य समुहले बेलायतकी शुष्मा राईलाई टीममा पारेको छ । एनआरएनएमा कांग्रेसका नेतालाई मात्रै उम्मेद्वार बनाएको आरोप लागेपछि आचार्यले नेकपाकी दह्रो समर्थक राईलाई टीममा पारेको हो ।

पन्त समूहबाट बर्तमान कार्यसमितिका युथ कोअर्डिनेटर सुदन थापाले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्तारुढ नेकपाका दृढ समर्थक थापासँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका जापानकै महेशकुमार श्रेष्ठ र अर्का कांग्रेस समर्थक नेता सोम सापकोटाले कोषाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । आचार्य समुहले सापकोटालाई आधिकारिक बनाए पनि श्रेष्ठ बागी उठनुभएको हो । सुरुदेखि आचार्यको टीममा रहन चाहेका श्रेष्ठ पार्टीले टीममा नपारेपछि पन्त समुहमा आउन चाहे पनि सुदन थापाको कारण टीममा पार्न नसकेको प्रवासी नेपाली मञ्च आवद्ध नेताहरुले बताएका छन ।

काममा अब्बल थापासँग कांग्रेसकै दुई गुटका नेताबीच कुरा नमिल्दा दुई जना नै कोषाध्यक्षमा भिडेका हुन । यस्तै समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम) सहित गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले उम्मेद्वारी दिनुभएको छ । अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ ।