भोजपुर, असोज १३ । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ मार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङले जग्गाधनी पूर्जा पाउनु भएको छ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका कोशी इन्चार्ज शेरधन राईले तामाङलाई ५ रोपनी ३ आना २ पैसा जग्गाको पुर्जा हस्तान्तरण गर्नुभयो ।
भोजपुरको षडानन्द १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर राई र उहाँकी पत्नीले लालपूर्जासँगै हाते ट्याक्टर र एक हल गोरु दिनुभएको हो । षडानन्द ८, मा रहेको ५ रोपनी ३ आना २ पैसा राईकी पत्नी जाङ्मु इन शेर्पाको नामबाट प्राप्त गर्नुभएको हो ।
यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमा प्रकाशले पूर्वमुख्यमन्त्री राईसँग जग्गा, हाते ट्याक्टर र एक हल गोरु मागेका थिए । २४ दिनपछि राई प्रकाशको माग पूरा गर्न राई भोजपुर पुग्नुभएको थियो ।
‘प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँकै माग अनुसार मैले सहयोगको प्रतिबद्धता गरेको थिएँ । म आज बाँचा पुरा गर्न तपाईको घरमा आइपुगेको हुँ । यो जग्गामा राम्रो धान, सुन्तला, रुद्राक्ष र अकबरे खोर्सानी फल्छ । अब तपाईँले नमुना कृषक बनेर विदेशमा रहेका नेपालीहरुलाई गाउँ फर्किनुपर्छ, गाउँमै अथाह सम्भावना छ भनेर सन्देश दिनुहोला,’ राईले भन्नुभयो । जग्गा पाएपछि प्रकाशले खुशी व्यक्त गर्नुभयो ।
‘अब मेरो लागि गरी खाने मेलो भएको छ । म धेरै खुशी छु,’ प्रकाशले भन्नुभयो । यसअघि प्रकाशको परिवार सुकुम्बासी हुनुहुन्थ्यो । यो जग्गा प्राप्त गरेसँगै अब प्रकाशको परिवार सुकुम्बासीबाट जग्गाधनीवाला हुनुभएको छ ।
समाजसेवीका रुपमा आफूलाई स्थापित गर्नुभएकी शेरधनपत्नी जाङ्मु इन शेर्पाले प्रकाशलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । ‘काठमाडौंमा भेट्ना उहाँले राख्नु भएको माग हामीले पुरा गर्ने वाचा गरेका थियौं । आज त्यो वाँचा पुरा गर्न पाउँदा खुशी लागेको छ । प्रकाश तामाङ जस्ता गाउँमै सम्भावना देखेकालाई सहयोग गर्न पाउदा औधी खुसी लागेको छ,’ जाङ्मुले भन्नुभयो । यसअघि गत भदौ १८ मा पूर्वमुख्यमन्त्री राई र पत्नी जाङ्मुले प्रकाशलाई १ लाख नगद सहयोग हस्तान्त्रण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्