चितवन, असोज ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टीभित्रैको अराजक गतिविधिका कारण गम्भीर खतरा देखिएको खुलासा गर्नुभएको छ । दाहालका अनुसार अहिले पार्टीभित्र एकले अर्कोलाई सिद्ध्याउन गम्भीर रोग लागेको छ ।
‘पार्टीभित्र एकले अर्कालाई सिद्याउने खतरनाक परिपार्टी हावी हुँदै गएको देखिएको छ, आजभोली आपसमा मिलेको देखेका छैनौं, कम्युनिस्ट हामी आफैं बिग्रेपछि मात्रै खतरा हुन्छ, पार्टीमा अहिले यही डर छ,’ नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अधयक्ष प्रचण्डले भन्नुभयो । उहाँले पार्टीभित्र संस्कारको अभाव रहेको तथ्यसमेत औंल्याउनु भयो ।
गत महिना निमार्ण व्यवसायी संघ चितवनको अधिवेशनमा नेकपाका तर्फबाट उम्मेदवार बनेका छवि कंडेल पराजित हुनुभएको घटनातर्फ अध्यक्ष प्रचण्डको यो भनाई आएको हो । पार्टीमा नराम्रो रोगको सुरुवात भएको भन्दै बेलैमा विचार नगरे त्यसले पार्टी सिद्याउन बेर नलाग्ने उहाँको भनाई छ । ‘हामीले निर्णय एउटा गर्ने, भोट अर्कोलाई हाल्ने रोग चितवनबाटै सुरु भएको छ, पार्टीलाई ग्याष्ट्रिक, अल्सर रोग लागिसक्यो, बेलैमा उपचार गरे निको हुन्छ, नत्र खतरा छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
प्रचण्डले भारत र चीनसँगको सम्बन्ध प्रगाढ भएको बिभिन्न तथ्य पनि राख्नुभयो । कार्यक्रममा उहाँले कम्युनिस्ट चरित्रमा अनुशासनहितना देखिएको भन्दै सच्चिन निर्देशन पनि दिनुभयो । सत्तामा नहुँदा इमान्दारिता प्रदर्शन गर्ने सत्तामा पुगेपछि सबै बिर्सने रोग रहेको उहाँको निश्कर्ष छ । प्रचण्डले जनताबाट नेताहरु टाढा भएर विचलित हुने रोग कम्युनिस्टलाई लागेको भन्दै कार्यकर्तालाई राजनैतिक परिवर्तनमा लाग्दाको अवस्थाको स्मरण गर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धिको यात्रा र विकासमा अवरोध गरी समाजवादको बाटो रोक्न विरोधी सलबलाएको भन्दै त्यसका लागि दलहरु एकजुट हुन अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्