जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १६:३८

कांग्रेस नेता आलमको नरसंहारमा प्रहरीकै साथ रहेको खुलासा, यस्तो छ प्रत्यक्षदर्सीको कहालीलाग्दो बयान


काठमाडौं, असोज ३० । रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विष्फोटपछि मृतक र घाईतेलाई ईटाभट्टामा आगो लगाएको अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमम्द आफताब आलमलाई प्रहरीले नै सो काण्ड घटाउन सहयोग गरेको तथ्य खुलेको छ । ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट हुँदा र घाइतेलाई जिउँदै जलाएर मार्ने काममा तात्कालिन प्रहरीको सहयोग रहेको पाइएको हो ।

संविधानसभाको पहिलो चुनावलाई लक्षित गरी बम बनाउँदै गर्दा विष्फोट भएको घटना लुकाउन आलमले प्रहरीकै सहयोगमा घाइतेहरूलाई इँटा भट्टामा लगेर हत्या गरेको तथ्य अहिले बाहिर आएको हो । ०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप आलममाथि लगाइएको छ । प्रहरीकै सहयोगमा आलमले बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा झोसेर हत्या गरेको तथ्य बाहिर आएको छ । घटनापछि मानवअधिकारको क्षेत्रमा देशकै अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी प्रतिवदेन तयार पारेको थियो ।

बम बिस्फोटको प्रमाण नष्ट गर्न मृतक र घाइतेहरुलाई जलाएर मारेको प्रत्यक्षदर्शीहरुले त्यसबेला बताएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेस नेता आलमलाई प्रहरीले असोज २६ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । घटनाताका पीडित परिवारले किटानी उजुरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले ०६९ जेठ १६ गते उजुरी दर्ता गर्न प्रहरीलाई आदेश दिएको थियो ।उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । चार पटक मन्त्री समेत भइसकेका छन् । कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य हुन ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा उक्त घटनाको नेपाली कांग्रेसबाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानविनका लागि आह्वान गरेका, घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगि उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ रहेको उल्लेख छ ।

इन्सेकलगायत मानव अधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकाहरूमध्ये वसि अख्तर मिँयाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटमा महमद अफताव आलमसहित चार जनाविरूद्ध किटानी उजुरी दिनुभएको थियो । उक्त उजुरी दर्ता नगराएको प्रहरीले हुलाक मार्फत दिइएको उजुरी ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई दर्ता गरेको थियो । घटनालाई मिलाउन मोहमद अफताव आलमले पीडित पक्षलाई २ लाख रुपियाँ दिन खोजेको थिए ।

यस्तो छ एक प्रत्यक्षदर्शीको भनाइ

आफताफ र सराज दुई जनाले मोहमद ओसि अख्तरलाई काम छ भनी जान भने, तर उ जान मानेन । जान नमानेपछि अख्तरलाई जवरजस्ती लगे । अख्तरलाई लगेपछि उनीहरूको पिछा गर्दै म पनि साइकलमा गएँ । कांग्रेस उम्मेद्वार मोहमद आफताब आलमको घरमा पुगेपछि अफतावले अख्तरलाई घरमा बसाल्यो र म गएपछि मलाई घरभित्र जान दिइएन । मलाई बाहिर बस भने । म बाहिर वसँे र एक छिनपछि म अख्तर बसेको घरको झ्यालबाट हेर्दा घरभित्र बमको छली लागेको देखें । कसैले बम उठाएर हेरिरहेको थियो । कोही सिगरेट त कोही बिँडी तानिरहेका थिए ।

पुनः म त्यहाँबाट फर्केर बाहिर बसिरहेको अवस्थामा बम राखिएको घरमा विस्फोटन भयो । कसरी बम विस्फोट भयो ? थाहा भएन । त्यतिखेर पिन्टु र अख्तर घाइते अवस्थामा बाहिर निस्केको देखें । ती दुवै जनाले हामीलाई अस्पताल पुर्याऊ भने । म त्यहाँ लिन जाँदा उनीहरू रिसाए अनि म त्यहाँबाट भागे । राति भएकाले गहुँको खेतमा लुकेर बसे । राति १२ बजे डरले सुतिरहेको अवस्थामा अगाडि पुलिसको गाडी बीचमा ट्रयाक्टर र पछाडिमा रहेको पुलिसको गाडिमा कांग्रेस उम्मेदवार आफताव पनि थिए । ट्रयाक्टरमा घाइतेहरूलाई राखी चिम्निमा लगे, घाइतेहरू रुँदै थिए । म त्यो देखे पछि म त्यहाँबाट भागे ।