जनता टाइम्स

१८ आश्विन २०८१, शुक्रबार १४:०२

विराटनगर भन्सार परिसर एकाएक तनावपूर्ण बनेपछि


मोरङ, असोज १८ । विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावपूर्ण बनेको छ ।

भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर एक जना साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित बनेपछि भन्सार परिसरको अवस्था तनावग्रस्त भएको हो । आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर शुक्रबार बिहान ढुंगामुढा गरेको छ ।

भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

डीएसपी जोशीका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ एक जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठाए पनि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरियो । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

ट्रक चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् । दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोसित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहारसमेत गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् । आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै विरोधमा स्थानीय आन्दोलित बनेका हुन ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए ।

त्यस क्रममा आक्रोशित भीडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताउनु भयो । उहाँका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् ।

भीड रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक) सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिनुभएको छ । भीड थप आक्रोशित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास र लाट्ठी प्रहारसमेत गर्नु परेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार अश्रुग्यास प्रहारपछि भीड तितरवितर भएको छ । अहिले भन्सार परिसरको अवस्था सामान्य रहेको र वार्ता एवं छलफलका माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको डीएसपी जोशीले जानकारी दिनुभयो ।