काठमाडौं, असोज २६। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दशैँ नेपालीहरूको साझा चाड भएको बताउनु भएको छ ।
बडा दशैँको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले दशैँले आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने काम गर्ने उल्लेख गर्नुभएको छ । मान्यजनहरूबाट आशीर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशीर्वाद दिने अवसरको रूपमा बडा दशैँको विशेष महत्त्व रहेको छ’, भण्डारीले दिनु भएको शुभकामना सन्देशमा उल्लेख छ ।
यस वर्ष दशैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैँ असहज र खल्लो भएको उल्लेख गर्दै भण्डारीले दशैँ पर्वलाई आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी तर खुसीयालीका साथ मनाउन आग्रह गर्नुभएको छ ।
उहाँले बडा दशैँ पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्