जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १४:५१

कक्षाकोठा अभावले पढाइमा समस्या


बागलुङ, कात्तिक १

ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव छ । विद्यालयमा ५९० विद्यार्थीले पढ्छन् । ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ । जीर्ण बनेको छात्रावास भवनमासमेत कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयलाई पाँच कोठा तत्कालै चाहिएका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो ।

“कक्षाकोठा व्यवस्थापन भए पनि पठनपाठनमा सहजता छैन”, उहाँले भन्नुभयो, “एउटै कोठालाई बारेर दुई कक्षा चलाउनुपर्दा अप्ठेरो छ ।” सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उहाँले बताउनुभयो । यही शैक्षिक सत्रदेखि पशु विज्ञान विषयको पढाइ शुरु भएपछि विद्याथी झन बढेका छन् ।

विद्यार्थी सङ्ख्याका आधारमा भौतिक पूर्वाधारको भने कमी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले शिक्षा विभाग र पुनःनिर्माण प्राविधिकरणमा भवनको माग गरिएको बताउनुभयो । “शिक्षामा आठ कोठे भवन र प्राधिकरणमा चार कोठे भवनका लागि माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्राधिकरणको सहयोगमा गत आवमा दुई कोठे भवन बनेका थिए । अहिले विद्यालयमा १८ कक्षाकोठा छन् । बालशिक्षामा कक्षा थप भएपछि कोठा पनि बढाउनुपरेको प्रअ रोकाको भनाइ छ । उहाँका अनुसार विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाउँदै आएको छ ।

भवनसँगै छात्रावास, खेल मैदान, शौचालयलगायत भौतिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ । गाउँपालिकाको केन्द्रमा रहेको र विद्यार्थी सङ्ख्यासमेत बढी भएका कारण सम्बन्धित निकायले बजेटमा प्राथमिकता दिनुपर्ने विद्यालय व्यवस्थापनको माग छ । गाउँपालिकाले उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने जनाएको छ ।

कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् । विद्यालयले कक्षा ११ र १२ मा मानविकी, शिक्षा र व्यवस्थापन शङ्काय सञ्चालन गरेको छ । प्राविधिक धारतर्फ पशु विज्ञान विषयमा ३८ विद्यार्थी अध्ययनरत छन् । उक्त विषयको पठनपाठनका लागि पनि थप कक्षाकोठा र प्रयोगशाला भवनको आवश्यकता छ ।