जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०७:२८

उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त


काठमाडौं, कात्तिक १ । क्षेत्राधिकार मिचेर मुद्दामा अन्तरिम आदेश दिएको अभियोग लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त भएका छन । न्याय परिषदले बिहीवार न्यायाधीश शाहीलाई सेवाबाटै बर्खास्त गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको न्यायपरिषद बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो। हेटौंडा उच्च अदालतको क्षेत्राधिकार मिचेर करसम्बन्धी एक रिटमा अन्तरिम आदेश दिएको आरोपमा शाहीसहित तीन जना न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतले परिषदमा पठाएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले छानबिनका लागि एक महिनाअघि परिषदमा पठाएको हो। छानबिनका लागि सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा समिति गठन भएको थियो।

छानबिनकै क्रममा आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका थिए।