जनता टाइम्स

६ कार्तिक २०८१, मंगलवार १४:३८

क्रिप्टो कारोबारीसँग ५० लाख असुल्ने दुई प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा


काठमाडौं, कात्तिक ६ । क्रिप्टो कारोबारीसँग झण्डै ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा अदालतमा मुद्दा दायर भएको हो ।

मुद्दा चलाइएका मध्ये तामाङ फरार छन । उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

प्रहरीका अनुसार तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो । आचार्यबाट ४९ लाख १० हजार रुपैयाँ असुलेर मुद्दा नचलाई छाडिएको थियो ।

प्रहरीका अनुसार तेज तामाङ नाम गरेका व्यक्तिले हवल्दार खड्कालाई क्रिप्टोकरेन्सी कारोबारीबारे गोप्य सूचनाको घटना बताएका थिए । सूचना दिने बताएपछि तामाङले भनेअनुसार खड्काले काम गरेको देखिएको थियो । तामाङको सूचनापछि क्रिप्टो कारोबारमा संलग्न रहेको भनिएका आशिष आचार्य नाम गरेका युवकलाई भदौ १४ गते पक्राउ गरेर परिसरमा ल्याइएको थियो ।

ती युवक पक्राउ परेपछि तामाङले उनका आफन्तसँग सम्पर्क गर्दै घटनाबारे बताएका थिए । उनलाई छुटाउन प्रहरीलाई ५० लाख दिनुपर्ने बताएपछि उनको परिवार सहमत भएको थियो । त्यसपछि आचार्यका दिदी अस्मिताले ४९ लाख १० हजार लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो । १४ गते पक्राउ परेका आचार्यलाई रकम बुझेपछि १६ गते छाडिएको थियो । प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा उडिसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको थियो ।

पक्राउ परेका आचार्य र क्रिप्टोको सूचना दिने तामाङ दुबै क्यानडामा सँगै बस्ने साथी हुन । क्यानडामा रहँदा आचार्यले क्रिप्टाको कारोबार गर्थे। उनीहरुसँगै काठमाडौं आएका थिए । आचार्यको क्रिप्टो कारोबार तामाङलाई राम्रो जानकारी थियो।

नेपालमा क्रिप्टो अवैधानिक रहेको थाहा पाएपछि तामाङले नै सूचना दिएपछि प्रहरीले पक्राउ गरेको थियो । उनी क्यानडामा बसेर क्रिप्टोमा लगानी गरेको पाइए पनि नेपालमा कुनै सम्बन्ध नभएपछि उनीमाथि कसुर आकर्षित नहुने भन्दै छाडिएको थियो । सोही बिषयमा छानविन अघि बढाएर मुद्दा दायर गरिएको हो ।