जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार १०:१२

महराले किन गरे प्रहरीसमक्ष बयान दिन इन्कार ?


काठमाडौं, कात्तिक २ । यौन हिंसाको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेका छन्। उपचारको क्रममा नर्भिक अस्पतालमा रहेका महराले प्रहरीलाई बयान दिन इन्कार गरेका हुन्।

महराले कमजोर स्वास्थ्यका कारण बयान दिन असमर्थता जनाएको उनका अधिवक्ता मुरारीप्रसाद सापकोटाले जानकारी दिनुभयो। ‘उहाँको कमजोर स्वास्थ्यका कारण आज बयान भएन,’ सापकोटाले भन्नुभयो । संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुरव्यवहार गरेको अभियोगमा महरालाई असोज १८ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि महरालाई उपचारका लागि नर्भीक अस्पतालमा राखिएको छ।

पक्राउपछि दसैं बिदा भएका कारण प्रहरीले गत मंगलबार मात्रै महरालाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दिएको म्याद हिजो शुक्रबार सकिएको छ। आज सार्वजनिक बिदा भएका कारण महरालाई भोलि आइतबार पुनः अदालतमा हाजिर गराउने बताएको छ ।