जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ००:००

कमिसनका लागि बिपीका डाक्टरले गरे बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस


धरान, कात्तिक २ । दक्षिण एयिसाकै प्रतिष्ठित एवं विशेषज्ञ चिकित्सकहरू भएको नमुना अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलासा भएको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठान बाहिरका औषधि पसलहरूमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण हुने गरेको पाइएपछि यस्तो तथ्य बाहिर आएको हो ।

ती फुड सप्लिमेन्टहरू विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्याएका छन । विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको भेटिएको छ । उक्त प्रेस्क्रिप्सन अनुसार सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न डाक्टरले सुझाएका छन् । तर, त्यसमध्ये दुईवटा मात्र औषधि र बाँकी पाँचवटा खाद्य पूरक सामग्री (फुड सप्लिमेन्ट) प्रतिबन्धित हुन् । ‘यहाँ त ठूलो विकृति भएको पायौं, डाक्टरले नै प्रतिबन्धित फुड सप्लिमेन्ट बिरामीलाई किनाउने रहेछन,’ कट्टेलले भन्नुभयो, ‘डाक्टरले किन्न भनेका ती फुड सप्लिमेन्ट विभागमा दर्ता भएका छैनन र गुणस्तर परीक्षण पनि भएको छैन। यो त चरम लापरवाही हो ।’

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ । बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन् । नेपालमा उत्पादित र विभागमा दर्ता फुड सप्लिमेन्ट मात्र प्रेस्क्राइब गर्न पाइने विभागको भनाइ छ । तर, बिपी प्रतिष्ठानका चिकित्सकले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको विभागले अनुगमनको क्रममा पाएको हो। नागरिक दैनिकमा पत्रकार रोहित राईले लेखेको समाचारअनुसार ती फुड सप्लिमेन्टहरू अस्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ ।