जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १०:२८

आलम पक्राउ प्रकरण : अन्तत मानवअधिकार आयोगले थाल्यो रौतहट घटना फाइलको अध्ययन


काठमाडौं, कात्तिक ३

रौतहटमा जिउदै जलाइएको घटनाका विषयमा चर्को दबाब परेपछि राष्ट्रिय मानवअधिकार आयोगले अन्तत पुरानो फाइल खोज्न थालेको छ । अहिलेसम्म मौन बसेको आयोगले २०६४ सालको रौतहट घटनाको फाइल अध्ययन थालेको हो ।

रौतहट–२ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले सोही घटनालाई लिएर असोज २६ गते पक्राउ गरेपछि आयोगले त्यसबारेमा अध्ययन थालेको हो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले त्यतिबेला आयोगले गरेको अनुसन्धान अध्ययन गर्न शुरु गरेको बताउनु भयो । उहाले सर्वोच्च अदालतले गरेको त्यतिबेलाको फैसला पनि मगाएको जानकारी दिनुभयो ।

आयोगले तत्कालै घटनाका बारेमा अनुसन्धान गरेर फाइल बनाएर पनि त्यो गुपचुप राखेको थियो । जसका कारण आयोगको अहिले पनि चर्को आलोचना भईरहेको छ । यद्यपी अध्यक्ष शर्माले आफु २०७१ सालमा मात्र आयोगमा आएकाले त्यसबेला किन प्रतिवेदन सार्वजनिक भएन भन्ने कुरा आफुले भन्न नसक्ने बताउनु भयो ।

आयोगका अध्यक्ष शर्माले त्यतिबेला किन रिपोर्ट सार्वजनिक गरिएन भन्ने बारेमा आफूलाई थाहा नभएको र अघिल्लो कार्यकालका पदाधिकारीले त्यसबारेमा आफूहरुलाई बरबुझारथ पनि नगरेको दाबी गर्नुभयो ।