जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ११:१५

आलमद्वारा बयान दिन इन्कार, म्याद थपका लागि अदालतमा पेश


रौतहट, कात्तिक ३

जिउँदै व्यक्तिलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

जिल्ला अदालत रौतहटमा आलमलाई केही समय अगाडी अदालतमा पेश गरिएको हो । यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुनः म्याद थपका लागि आइतवार अदालतमा पेश गरिएको हो । कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन । आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।

२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् । अदालतबाट म्याद थप गरेपछि आलमसँग जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी पनि छ । आलमले बिरामी भएको बहानामा बयान दिन आनाकानी गर्दै आएका छन् । आलम सुगर र प्रेसरका बिरामी छन् ।