जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १३:५३

गर्भवती जाँच र महिनावारी हुने कर्मचारीलाई बिदा


बेझाड, कात्तिक ३

पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताउनुभयो । “गर्भवती भएका बखत सहजरुपमा गर्भ परीक्षण गर्नका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्न चार दिन र महिनावारीका बेला आराम होस् भनेर एक दिन बिदा दिने निर्णय गरी कार्यक्रम अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो ।

महिनावारीका समय बिदा दिन थालेको दुई वर्ष भइसक्यो । गर्भवती परीक्षणका लागि शनिवार पाल्पाको रामपुरमा भएको २७औँ वार्षिक साधारणसभाले नीति तथा कार्यक्रम पास गरी चार दिन बिदा दिने कार्यक्रम सुरु गरिएको जनाएको छ । सो अवसरमा संस्थाले सुप्रसिद्ध सिर्जना पुरस्कार–२०७६ बाट ज्योतिषशास्त्र माधवप्रसाद पाण्डेलाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

कर्मठ सदस्यलाई प्रदान गरिने कर्मवीर पुरस्कारबाट संस्थाका पूर्वअध्यक्ष तथा हाल निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँणलाई सम्मान गरिएको छ । यसैगरी संस्थामा दस वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत कर्मचारी दानबहादुर रजाली र शकुन्तला नेपालीलाई दीर्घसेवा पुरस्कार, पाँच वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत साक्षरता कार्यक्रम पाल्पाका कर्मचारी भुपाल आले र सुआहारा नवलपरासीका भागिरथी पाललाई उत्कृष्ट पुरस्कार प्रदान गरियो ।

वार्षिक उत्कृष्ट कर्मचारी सुआहारा नवलपरासीमा कार्यरत पुरस्कारबाट संगीता अधिकारी, पाल्पामा कार्यरत कुश्माखर पाण्डे, पशुपति पन्थी, गेहेन्द्र पौडेललाई पनि सम्मान गरिएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले वार्षिक साधारणसभाको उद्घाटन गर्दै बेस नेपालले सामाजिक, आर्थिक विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा अत्यन्तै राम्रो काम गरेको देख्दा खुशी लागेको बताउनुभयो ।

उहाँले जिल्ला, प्रदेशको समग्र विकासको लागि आपूmले सक्दो सहयोग गर्ने बताउदै संस्था चिनाउने माध्यम भनेको नै संस्थाले गर्ने काम रहेको बताउनुभयो । सुआहारा कार्यक्रमबाट पाल्पा जिल्लामा छ हजार ८८३ जना हजार दिनका आमालाई घरभेटमार्फत उनीहरुलाई स्वास्थ्य र पोषण सम्बन्धमा परामर्श सेवा, दुई हजार २०० घरपरिवारले स्वस्थ घर प्रवद्र्धनको लागि भेटघाटमार्फत सेवा र ७५२ घरपरिवारले पोसिलो खाना उत्पादनको लागि घरधुरी अवलोकन तथा परामर्श सहयोग पाएका छन् ।

यसैगरी नवलपरासीमा सुआहार कार्यक्रममार्फत तीन हजार पाँच गर्भवती आमा र चार हजार ७१२ बच्चाका आमाले घरभेटमार्फत परामर्श सेवा, ७१० वटा पोसिलो खाना प्रदर्शनी कार्यक्रमबाट जम्मा दश हजार ५७८ आमाले पोसिलो खाना बनाउने तरिका र यसको महत्वको बारेमा जानकारी लिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सभाले आर्थिक २०७६÷०७७ को अनुमानित आयतर्फ पाँच करोड १२ हजार ८४२ र व्यायतर्फ चार करोड ९४ लाख १३ हजार ८४२ बराबरको आयव्याय पारित गरेको छ ।