जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १५:४२

रौतहट नरसंहार : आलमलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति


रौतहट, कात्तिक ३ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत रौतहटले आज प्रहरीको माग बमोजिम थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

चुनावमा धाँधली गर्न घरमा बनाइरहेको बम बिष्फोट भएपछि घटना लुकाउन आलमले घाइतेलाई बेहोस हुने सुई लगाएर राती इट्टाभट्टामा हालेर जिउँदै जलाएको अभियोग लागेको छ । लामो समय शक्तिको आडमा घटना लुकाएपनि अहिले भने तथ्यहरु बाहिर आएका हुन । १२ वर्ष पुरानो यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेतापछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो । तर महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

गत २५ गते राजपुर छिर्ने शेख ईद्रिस गेटबाट पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले आज थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आलमको तर्फबाट अदालतमा उपस्थित ५ भन्दा धेरै कानून व्यवसायीहरुले थुनामा राख्नु नपर्ने जिकिर गरेका थिए । नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वमन्त्री आलमलाई थुनुवा कक्षबाट जिल्ला अदालत लैजाँदै गर्दा आलम सर्मथकहरुले नाराबाजी गरेका थिए । आलमले आफ्ना सर्मथकहरुलाई कपोलकल्पित मुद्दामा फसाइएको जिकिर गरेका थिए । शक्तिको आडमा रौतहटमा नरसंहार मच्चाएका आलमले अहिलेसम्म प्रहरीलाई बयान दिन मानेका छैनन ।