जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १४:३८

लागुऔषधका कारण आपराधिक घटना बढ्दै


कैलाली, कात्तिक ४

कैलाली जिल्लामा लागुऔषध ओसारपसार तथा प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा समाजमा विभिन्नखाले आपराधिक घटना पनि बढ्न थालेको छ । आपराधिक घटनामध्ये अधिकांश घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता भेटिएको प्रहरीको भनाइ छ । साथीहरुको लहलहैमा लागेर धेरै युवा लागुऔषध दुव्यर्सनीमा फस्ने गरेका र उनीहरू चोरी, डकैती, लुटपाट, झैँझगडाजस्ता आपराधिक घटनामा संलग्न रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयले गत आर्थिक वर्षमा मात्रै लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न १२७ जनालाई पक्राउ गरिएकामा तीमध्ये ८७ जना माथि मुद्दा दर्ता गरेकोे थियो । चालू आर्थिक वर्षको दुई महीनामा १७ जना पक्राउ परिसकेका छन् । तीमध्ये १२ जना बिरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको र बाँकीलाई अभिभावसँगको परामर्शमा छोडिएको थियो ।

“नेपालमा गाँजा र चरेश सजिलै पाइने हुँदा यसको कारोवार र सेवन बढ्दो छ”, टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहरप्रसाद भट्टले भन्नुभयो, “सुईबाट प्रयोग गरिने ट्याब्लेट र झोल लागुऔषध भारतीय क्षेत्रबाट भित्र्याउने गरिएको देखिन्छ ।” नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै कतिपयले सीमावर्ती भारतबाट यस्ता पदार्थ ल्याइ सेवन गर्दै आएकामा पछिल्लो केही महीनायता यो क्रम घट्दै गएको प्रहरी निरीक्षक भट्टको जिकिर छ ।

लागुऔषध प्रयोगकर्ताका लागि पर्याप्त पुनःस्थापना केन्द्रको व्यवस्था नहुँदा सेवनकर्तालाई राख्नसमेत प्रहरीलाई समस्या छ । कतिपय साथीभाइको लहलहैमा लागेर त कतिपय अविभावकको उचित संरक्षण एवं रेखदेख नहुँदा लागुऔषधको कुलतमा फसिरहेको देखिएको लागुऔषध रोकथामका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको भनाइ छ ।

युवा लागुऔषध दुव्र्यसनीको शिकार हुने क्रम बढ्दै जाँदा पनि अभिभावक एवं सरोकारवाला भने बेखवरजस्तै देखिने गरेकाले लागुऔषध सेवनको समस्याले जटिल रुप लिनसक्ने खतरा बढेको छ । लागुऔषधको सेवनले निम्त्याउने परिणामबारे सेवनकर्ताले बुझ्न नसक्दा यसले भयावहरुप लिन थालेको स्थानीय समाजसेवी लेखराज ओझा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अभिभावकले आफ्ना छोराछोरीको दिनहुँको बानी व्यवहारबारे ध्यान नपु¥याउँदा यो समस्या बढ्दै गएको हो ।” “लागुऔषधको अम्बलीले लागुऔषध खरीद गर्नाकै लागि उसले शुरुमा घरबाट चोरी गर्न शुरु गर्छ”, त्यसपछि विस्तारै समाजमा चोरी र लुटपाटमा समेत संलग्न हुने गरेकाले यो समस्या एक सामाजिक चुनौतीको रुपमा खडा भएको छ ।” अर्का समाजसेवी तीर्थराज ओझा भन्नुहुन्छ ।

प्रहरी कार्यालयले लागुऔषधको ओसारपसार, प्रयोग र सेवन रोकथामका लागि नियमित जाँच गर्नाका साथै पटक पटक विभिन्न विद्यालय, समुदाय, शिविरमा चेतनमूलक कर्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन । प्रहरी प्रशासन एक्लैको प्रयासमा मात्रै यो समस्या न्यूनीकरण हुन नसक्ने हुँदा परिवार र समाजले समेत सचेत हुनुपर्ने प्रहरीको भनाइ छ ।

अठार वर्षदेखि २५ वर्ष उमेरका धेरै युवा यसको कुलतमा लाग्ने गरेको र उनीहरूले समूहगत रुपमा नै एकान्त ठाउँ खोजी गरी लागुऔषध सेवन गर्ने गरेका छन् । यो समूहले सुईबाट लागुऔषध लिने कामलाई शिकार खेल्ने वा भाला रोप्ने, चरेश खाने कामलाई गोट्टी खानेजस्ता संज्ञा दिने गरेको पाइन्छ । चरेश र गाँजालगायत लागुऔषधले धित नमरे सुईको माध्यमबाट पनि टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता लागुऔषध प्रयोग गर्ने गरेको बताइन्छ ।