जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १५:५६

फूल खेतीतर्फ आकर्षण बढ्दो, अवलोकन गर्न आउनेको चहलपहल बढ्दै


पाल्पा, कात्तिक ४

पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ । थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ ।

फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिनुभएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाउनुभएको हो । “अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउनुहुन्छ । उहाँले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पुर्याइसक्नुभएको छ ।

“परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आउनुभएको छ । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।

थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्नुहुन्छ । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उहाँले फूल खेती शुरु गर्नुभएको हो ।

“फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो । दश वर्ष विदेशमा मजदूरी गरेर फर्किनुभएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ ।

फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो । थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।