जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १५:५४

नेपाल भ्रमणमा आउँदै आङ सान सुकी, यस्तो छ कारण


काठमाडौं, कात्तिक ४ । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीको नेपाल भ्रमणको तयारी शुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न म्यान्मारको राजकीय भ्रमणका क्रममा सुकीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवर्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले भ्रमणको तयारी शुरु गरेको हो ।

राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा म्यानम्यारका स्टेट काउन्सिलर सूकीले नेपाल भ्रमण वर्षको प्रवर्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिनुभयो ।‘म्यानमारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ, हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउने छौं,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको बताउनु भयो । राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपुर्ण सम्झौता भएको थियो ।