जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार १५:१३

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ


काठमाडौं, मंसिर ११ । घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् । सर्वोच्च अदालत अघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यादवले आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनसन बस्दै आएकी थिइन । यसअघि उनले अनसन बसेपछि सरकार पक्ष उनको चारबुँदे सहमति पनि भएको थियो ।

त्यतिबेला यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो । कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।