जनता टाइम्स

१३ मंसिर २०८१, बिहीबार २२:५१

ग्रामथानका माओवादी उम्मेदवार माझीलाई चलाइएको थियो फौजदारी कसुरमा मुद्दा, निर्वाचन खर्च पनि बुझाएको खुलासा


मोरङ, मंसिर १३ । आगामी उपनिर्वाचनका लागि नेकपा माओवादीबाट मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका नमोनारायण माझीविरुद्ध फौजदारी कसुरमा मुद्दा चलेको पाइएको छ । माझीविरुद्ध प्रहरीले २०८० साल चैतमा अभद्र व्यवहारको मुद्दा चलाएको पाइएको हो ।

ग्रामथान–१ को रामजानकी मन्दिरका लागि नमोनारायणले बजेट माग गरेको र सुनुवाइ नभएको भन्दै २०८० चैत ११ गते दलबलसहित गाउँपालिकाको कार्यालयमा पुगेर हुलहुज्जत गर्दै तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ ।

कार्यापालिकाको बैठक चलिरहेका बेला नमोनारायणको समूहले बैठक कक्षमा प्रवेश गरी जनप्रतिनिधि र कर्मचारीलाई अपशब्दसहित अश्लील गालीगलौज, हुलहुज्जत एवं तोडफोडको प्रयास गर्नुका साथै धाकधम्की दिएको भनेर गाउँपालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

नमोनारायणसहित ९ जनाविरुद्ध २०८० साल चैत ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको पाइएको हो । प्रशासनका अनुसार मुद्दामा नमोनारायण माझी, विष्णुप्रसाद माझी, राजनारायण भगत, सञ्जितादेवी भगत, तिलकराम माझी, खड्गबहादुर मगर, बिन्दाकुमारी सुतिहार, कल्पना मगर र धीरेन्द्रकुमार भगतलाई प्रतिवादी बनाइएको थियो । जिल्ला प्रशासन कार्यालयले नमोनारायणलाई २५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । अन्यका हकमा २ र ३ हजार धरौटी माग भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजलासले २०८१ भदौ १७ गते मुद्दाको किनारा लगाउँदै अभियुक्तहरुलाई जरिवाना हुने फैसला सुनाएको थियो । नमोनारायणसहित सञ्जितादेवी, तिलकराम, खड्गबहादुर, बिन्दाकुमारी र कल्पनालाई जनही ३ हजार रूपैयाँ जरिवाना हुने फैसला प्रशासनले सुनाएको हो ।

यस्तै विष्णुप्रसाद माझी र राजनारायण भगतलाई २ हजार जरिवाना भएको थियो । तारिक गुजारेको कारण जनाएर प्रशासनले धीरेन्द्रकुमारलाई ५ हजार जरिवाना हुने फैसला प्रशासनले गरेको थियो । गाउँपालिकाविरुद्ध नै अनैतिक हर्कत गरेर फौजदारी कसुरमा मुद्दा चलाइएका नमोनारायण अहिले माओवादीबाट त्यही गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

ग्रामथान–१ को वडाध्यक्ष हुँदा पनि विभिन्न योजनादेखि उपभोक्ता समितिसँग मिलेमतो गरेर अनियमितता गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ । यस्तै नमोनारायणले वडाध्यक्षको उम्मेदवार हुँदाको निर्वाचन खर्चको विवरणसमेत नबुझाएको पाइएको छ । माओवादीले अपराधमा संलग्न मान्छे नै छानेर प्रवेश गराई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि पार्टीभित्रै तीव्र असन्तुष्टि समेत देखिएको छ। नमोनारायणलाई पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले टिकट दिनुभएको हो ।

उपनिर्वाचनमा एमालेले गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार हुनुहुन्छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।