बैतडी, कात्तिक ५
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवादभएपछि सर्वसाधारणमाथी डोजर चलाउने चालक पक्राउ परेका छन् । गाउँलेहरुबीच विवाद हुँदा सडकमा आएका महिलालाई डोजरको खन्ने भागले सर्वसाधारणलाई पल्टाउने गरेका थिए ।
महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा सोमबार झडप भएको थियो। झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो। जोशीको अहिले धनगढीमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन्।
सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए। रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ। सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन्। निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्