जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १५:००

नेकपाकै नेताले गरे यातायातमन्त्री जेल जाने घोषणा, प्रचण्डले ओली सरकार भन्दा मन्त्रीले दुखाए चित्त


जनकपुर, कात्तिक ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक नेताले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ छिट्टै जेल जाने ठोकुवा गरेका छन । नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठ भ्रष्ट्राचारको कसुरमा जेल जाने ठोकुवा गर्नुभएको हो ।

महासेठकै कारण तात्कालिन नेकपा एमाले छाडन बाध्य भएका झाले पार्टी एकतापछि पनि चरम लडाई चलिरहेको बेला कार्यकर्तामाझ महासेठको उछितो काडनु भएको हो । ‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो,’ धनुषाको महेन्द्रनगरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै झाले भन्नुभयो, ‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठकै कारण बदमानी खेप्नुपरेको बताउनु भयो । महासेठले विकास निर्माणको काममा राम्रो नगरेको कारण सरकार बदनाम हुन पुगेको झाको तर्क थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले पनि पार्टी नेतृत्वको आलोचना गर्नुभयो । अध्यक्ष प्रचण्डले नै ओली सरकार भन्दै गर्ने टिप्पणीमाथि मन्त्री यादवले आपत्ति जनाउनु भएको हो । ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ, सरकार नेकपा हो कि ओलीको ?’, मन्त्री यादवले भन्नुभयो । यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको निश्कर्ष पनि सुनाउनु भयो ।

संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको ठोकुवा मन्त्री यादवले गर्नुभयो । ‘काम गरेर कम्युनिस्ट बनौं, नामको लागि मात्र होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडाईं लड्नुपर्छ, अनि मात्र कम्युनिष्ट भइन्छ,’ मन्त्री यादवको भनाई थियो ।  प्रदेश कमिटी गठनसँगै दुई ध्रुवमा बिभाजित भएका प्रदेश २ का नेकपाका नेताहरु एकले अर्काेमाथि हदै तलसम्मको आरोप लगाउने तहमा ओर्लिएका छन । शुभकामना आदान प्रदानमा सहभागी कार्यकर्ताले दुवै नेताको भनाईलाई यही रुपमा बुझेका छन । ‘यहाँ त एकले अर्काेलाई समाप्त पार्ने अभियान नै चलेको छ, त्यसैको बिम्ब हो मन्त्री महासेठ जेल जाने घोषणा,’ सहभागी एक कार्यकर्ताले भने ।