जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार १७:२५

सांसद सापकोटालाई कारबाही नगरिएकामा जनमत पार्टीको असन्तुष्टि


काठमाडौं, मङ्सिर १७ । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरिएकामा असन्तुष्टि जनाएको छ । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद् पदबाटमुक्त गरेको व्यक्तिलाई संसद्ले बचाउ गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

‘जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याएर कारबाही सदर गरिसकेको सदस्यलाई संविधानको भावना विपरीत संरक्षण गर्न खोजिएको छ, यसप्रति पार्टीको आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ ।

सापकोटा जनमत पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ । सापकोटालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिए पनि संसद् सचिवालयले बचाउ गर्नेगरी पार्टीलाई पत्र पठाएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।