जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १६:२९

अध्यक्ष प्रचण्डको निश्कर्ष : ओली सरकारको पालामा नयाँ उचाइमा पुग्यो छिमेकी मुलुकसँगको सम्बन्ध


पाँचथर, कात्तिक ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

“चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।”अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पु¥याउने घटना भएको उल्लेख गर्नुभयो ।

सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुङ्ग््याउने विषयमा समझादारी भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताउनुभयो । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उहाँको भनाइ छ ।

पत्रकारहरुको जिज्ञासामा उहाँले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताउनुभयो ।अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पुर्याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल फिदिम आइपुग्नुभएको हो