जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १६:४४

आफ्नो सहमतिबिना संवैधानिक परिषद्का निर्णय हुन नहुने कांग्रेसको निर्णय


काठमाडौं, कात्तिक ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय आफ्नो पार्टीको सहमतिमा मात्रै हुनुपर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय सहमति भन्दा बाहिर गएर बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो ।

संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिनुभयो । साथै बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ ।

बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । काङ्ग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउन र अन्य तयारीका लागि यही कात्तिक ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसअघि भोलि नै पदाधिकारी बैठक पुनः बसेर केन्द्रीय समितिमा छलफल हुने कार्यसूचीका बारेमा समेत सहमति गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाललगायत उपस्थित हुनुहुन्थ्यो ।