जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १८:४४

महराको बयानले देखायो शाहीसँगको लामो प्रेम सम्बन्ध


काठमाडौं, कात्तिक ५ । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई कोठामै पुगेर रक्सी सेवनपछि बलात्कार प्रयाश गरेको र अस्वीकार गर्दा कुटपिटको आरोप लागेका तात्कालिन सभामुख कृष्णबहादुर महराले बिवादास्पद बयान दिएका छन । रोशनी शाही बलात्कार प्रकरणमा महराले प्रहरी समक्ष मराले दिएको बयान प्रश्नैपिच्छे बाझिएको हो । पक्राउ परेको लामो समयसम्म स्वास्थ्य अवस्थाका कारण बयान दिन अस्वीकार गरेका महराले पछिल्लो पटक बयान दिन तयार भएका थिए ।

बयानका क्रममा महराले आफ्नै भनाईलाई काटेको अनुसन्धानमा संलग्न एक अधिकारीले जनताटाइम्सलाई बताए । ती अधिकृतका अनुसार घटना भएको दिन असोज १२ गते साँझ शाहीको कोठामा पुगेको भनी सार्वजनिक स्वीकारोक्ति गरेका महराले शाहीले बयान फेरे जस्तै सो दिन आफू शाहीको घरमा जाँदै नगएको बयान दिएका हुन । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार प्रहरीसमक्ष बयानको क्रममा महराले प्रहरीले बरामद गरेका सवुतसमेत झुटा भएको भन्दै घटना घटेको दिन आफू रोशनी शाहीको डेरा रहेको घर नजिकसम्म मात्रै पुगेको तर घरभित्र नगएको जनाएका हुन । रोशनी शाहीसँगको सम्बन्धबारे भने महराले पारिवारिक सम्बन्ध रहेकोले आउजाउ भइरहने बताएका छन ।

आफूहरुबीच पारिवारिक सम्बन्ध रहेको कारण आउजाउँ भइरहने र सो दिन रोशनीसँग झगडा परेकोले सम्झाउन गएको तर शाहीको फोन नउठेपछि घरभित्र नगई फर्किएको महराले बयान दिएका छन । तर सो दिन सिसिटीभी फुटेजमा भने महरा एक घण्टा १९ मिनेट शाही बस्ने घरमा रहेको देखिएको छ । ‘रोशनी शाहीसँग दिउँसोदेखि झगडा परेकोले सम्झाउनका लागि भेट्न जान लागेको थिएँ, तर फोन नउठेपछि घरभित्र नछिरी फर्किएको हो,’ महराको बयान उधृत गर्दै स्रोतले भन्यो । के बिषयमा झगडा परेको हो भन्नेबारे भने महराले केही खुलाएका छैनन । सिसीटीभि फुटेजमा लगभग सवा घण्टा महरा घटनास्थलमा रहेको देखिएपछि महराले सो क्षेत्रमा पुगेको तर घरभित्र नगएो बताए पनि त्यक्ति धेरै समय कहाँ बसे भन्ने खुलाएका छैनन ।

शाहीको डेरामा भेटिएको भाँचिएको चस्माको बिषयमा पनि महरा चिप्लिएका छन । पहिलो पटक आफ्नो चस्मा नभएको बताएका महराले दोस्रो पटक पुरानो चस्मा देखाएर फसाउन खोजिएको बयान दिएको अनुसन्धानमा संलग्न अर्का अधिकारीले बताए । घटना घटेको पर्सिपल्ट अर्थात असोज १४ गते प्रहरीले शाहीको डेराबाट रक्सीको बोतल, शाहीसँगको घम्साघम्सीमा महराको भाँचिएको चस्माको खुट्टा, उनको जुत्ताको तलुवा लगायतका प्रमाण संकलन गरेको थियो । महराले भाँचिएको त्यही चस्माको खुट्टा आफ्नो पुरानो चस्माको भएको बयान दिएका हुन । ‘सुरुमा मेरो चस्मा लगाएकै छु, त्यो चस्मा मेरो हैन भन्ने बयान दिनुभएको छ, फेरि आफ्नो पुरानो चस्मा देखाएर फसाउने षड्यन्त्र भयो भन्ने कुरा पनि गर्नुभएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीको भनाई छ ।

घटना भएकै राती शाहीले फोन गरेपछि उनको कोठामा पुगेर प्रहरीले शरीरमा लागेका घाउचोट र बयान रेकर्ड गरेर फर्किएको थियो । प्रहरीले बयान रेकर्ड गरेको भोलिपल्ट महराको बलात्कार प्रकरणको समाचार सार्वजनिक भएको थियो । घटना घटेकै राती शाहीले प्रहरीलाई भिडियो बयान दिँदै आफूलाई बलात्कार गरेको बताएकी छन भने राती ११ बजेर सात मिनेट जाँदा महराको छोरा राहुललाई भाइवरमा म्यासेज पठाई आफूलाई बलात्कार गरेको र सो कुरा घरभेटीले चाल पाएको जनाउ दिएकी थिइन । ‘राहुल आज तिम्रो बुवाले मलाई रेप गर्नुभयो, यो कुरा म बसेको घरबेटीले थाह पाई प्ुलिस बोलाए, उनले चिने । अंकल तनहुँ जानुभको छ, अंकललाई पनि थाह भयो, पुलिस आए, मेरो बयान लिए । तिम्रो बुवा भाग्नुभयो, वरपर सवैले देखे । यसको नतिजा के हुन्छ मलाई थाह छैन । मलाइ पिटन सम्म पिटनु भयो,’ छोरा राहुललाई शाहीले पठाएको म्यासेज हो यो । यही म्यासेज पठाएको भोलिपल्ट हाम्राकुरा डटकमले महरा–शाही बलात्कार प्रकरणको समाचार भिडियोसहित ब्रेक गरेको थियो ।

रक्सी सेवन गरी बलात्कार र कुटपीट गरेको शाहीको किटानी जाहेरीको आधारमा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका महरालाई अदालतले भोलि बुधवारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शाहीको लिखित जाहेरीपछि महरा पक्राउ परेका थिए । जाहेरी दिनुअघि नै महरा आफ्नो कोठामा नआएको बयान दिएकी थिइन शाहीले । तर त्यसपछि फेरि जाहेरी दिएकी थिइन । पटक पटक बयान फेर्दै आएकी शाहीले अदालतमा समेत महरा आफ्नो कोठामै नआएको र बेहोसी अवस्थामा आफूले के–के आरोप लगाएको भन्दै निवेदन दिएकी छन । प्रहरीमा महराको बयान सकिएको छ । अव सवुत प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयमा अभियोगपत्र बझाई अदालतमा मुद्दा पेश गर्ने प्रहरीको गृहकार्य रहेको छ ।