जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १९:४२

धरान उपमहानगरमा कांग्रेसलाई धक्का, समाजवादीले गर्यो मेयरको उम्मेद्धार घोषणा


धरान, कात्तिक ५

नेकपाको बलियो गढ मानिएको धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि हुने निर्वाचनमा नेपाली कांग्रेसलाई धक्का लागेको छ । संघीय समाजवादी पार्टीले उम्मेद्धार घोषणा गरेपछि कांग्रेस जिल्ल परेको हो ।

नेकपाका उम्मेद्धारलाई टक्कर दिनका लागि समाजवादी पार्टीसँग सहकार्य गर्न खोजिरहेको कांग्रेसलाई यो निर्णयले ठुलो धक्का दिएको छ । समाजवादी पार्टीले सर्वसम्मतले गजेन्द्र इस्वोलाई उम्मेद्धारमा उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला, प्रदेश तथा केन्द्रका नेता र सल्लाहकार समेतको बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रमुख पदको उम्मेदवारमा इस्वोलाई सर्वसम्मतले निर्णय गरेको हो ।

धरानमा समाजवादी, नेकपा र कांग्रेस पछि तेश्रो शक्तिको रुपमा रहेको छ । समाजवादीले इस्वोको नाम सिफारिस गरेपछि कांग्रेसले समाजवादीसँग गठबन्धन गर्ने रणनीतिको ‘च्याप्टर क्लोज’ भएको समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बुले बताउनुभयो । उहाँले धरानको उपनिर्वाचनमा कांग्रेससँग समाजवादीको गठबन्धनको सम्भावना समाप्त भएको बताउनुभयो ।

पार्टीको बैठकले कांग्रेससँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने सुझाव र दबाब दिएपछि इस्वोको नाम सर्वसम्मत गरिएको थियो । पार्टीको उक्त निर्णयसँगै जनअभिमत थाहा पाउनको लागि पनि एक्लै चुनाव लड्ने र सकेसम्म जित हासिल गर्न कोसिस गर्ने भन्ने राय, सुझाव आएको आधारमा पार्टीको वडा अध्यक्षहरुको संयुक्त बैठकले पनि गठबन्धन गर्न नहुने भन्दै पार्टीलाई दबाब दिएको थियो ।