जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०८:३७

मान्छेमाथि नै डोजर चलाउने चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा, अदालतले दियो यस्तो अनुमति


बैतडी, कात्तिक ६ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। स्थानीय महिला गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिएर बोहरामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । ‘गौरी जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ भन्ने खबर आएको छ। चालकले डोजरले हुत्याएको कुरा बाहिर आएपछि हामीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएका छौं,’ प्रहरी निरीक्ष्ँक चन्दले भन्नुभयो । दशरथचन्द नगरपालिका वडा नं ९ को सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको कोहलपुरमा उपचार भइरहेको छ। ‘म त गरिब मान्छे, डडेल्धुरा होटेलमा काम गरेर बालबच्चको पालनपोषण गरिरहेको थिएँ, सोमबार यस्तो ब्रजपात आइलाग्यो।’ गौरीका श्रीमान जगदीश जोशीले भन्नुभयो, ‘हाम्रै जमिनमा डोजर चलाउने हामीलाई नै मार्न खोज्ने कस्तो जमाना आयो ?’। दोषीलाई दण्डित गरी आफू न्याय पाउनु पर्ने जोशीले माग गरे।

ढुंगा हानाहान हुँदा दुवै पक्षका अन्य सातजना समान्य घाइते भएका थिए। उनीहरुको जिल्ला अस्पतालमा उपचार भएको थियो। पार्ससम्म जोड्ने सडक चिलाउने भन्ने ठाउँमा पुग्दा जमिनवालाहरुले केही दिनभित्रै सबैसँग सहमति गरेर सडक अगाडि बढाउन आग्रह गरेको भएपनि निर्माण पक्षले जबरजस्ती सडक अगाडी बढाउन खोज्दा विवाद उत्पन्न स्थानीय हंशराज जोशीले जानकारी दिनुभयो।